अनलाईन न्युजपाटी,सप्तरी समाचारदाता ,चैत्र ३० गते।
नोबेल कोरोना भाइरसको जोखिम हुन नदिन थप सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्टहरू खडा गरी थप कडाइ गरेको छ।सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ६ गणले जनाएको छ।नेपाल–भारत आवतजावत ठप्प गर्न सशस्त्र प्रहरी बलले ठूलो सङ्ख्यामा पोस्ट खडा गरी पैदल गस्तीसमेत थालेको जानकारी दिए ।
भारतसँगको सिमाना ७८ किलोमिटर रहेको सप्तरीमा यसअघि सात वटा मात्र बिओपी थियो । “सात बिओपीको जिम्मेवारी क्षेत्र औसत दूरी ११/१२ किलोमिटर रहेकाले सीमानाका पूर्णरूपमा नियन्त्रण गर्न कठिनाइ भइरहेको थियो । नियमितबाहेक थप १६ स्थानमा अस्थायी चौकी खडा गरी ५५ स्थानमा परिचालन गरिएपछि सीमामा आवतजावत पूर्णरूपमा ठप्प भएको छ ।
सशस्त्र प्रहरीले खाली रहेको विद्यालय, टहरा र पालमा समेत शिविर खडा गरी सीमाको ५५ स्थानमा परिचालन गरिएको जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सीमानाका बन्द गरिए पनि खुला सीमाका कारण सर्वसाधारणको आवतजावत भइरहेको विषयलाई मध्यनजर गर्दै सीमामा थप जनशक्ति परिचालित गरी पैदल गस्ती थालिएको छ।
लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो । भारतबाट स्वदेश फर्किनेको प्रहरीले स्थानीय तहको सहयोगमा खोजीकार्य जारी राखेको छ । प्रहरीले नाकाबाट लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको जनाएको छ ।