अनलाईन कृष्णा यादव, बीरगन्ज समाचारदाता, जेठ २ गते
पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने भएका छन्। बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको हो।
गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए। प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो।
उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो। सुरक्षाकर्मीलाई संक्रमित भागेमा नियन्त्रण लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने तथा गोली समेत चलाउन पाउने अधिकार दिने निर्णय गरेको हो।उक्त बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले गरेका थिए।
बैठकमा नारायणी अस्प्तालका डा. मदन उपाध्याय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, नेपाली सेनाको चण्डीप्रसाद गणका प्रमुख सेनानी मदनजंग राणा, नेपाल प्रहरीकी एसपी गंगा पन्त, सशस्त्र प्रहरीका एसपी दिवेन्द्र कुँवर, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक कुमार खड्का र वीरगञ्ज महानगरका मेयर विजयकुमार सरावगी उपस्थित थिए ।