अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २ गते
लकडाउनमा परेर नेपाल भारत सिमाना सिल गरिएपछि धेरै नेपाली सीमापारि फसेको र धेरै भारतीय नागरिक सीमावारि फसेको हुँदा एक सहमति गरेर दुवै देशका नागरिकलाई आआफ्नो देश पठाइएको छ ।
बाँके प्रशासन र भारतको बहराईच जिल्ला प्रशासनबिच भएको सहमतिअनुसार दुवै देशका नागरिकलाई आ-आफ्नो देशमा पठाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।
उहाँका अनुसार नेपाल भारत सिमानाको जमुनाह नाकाबाट बुधबार राति ११ बजेसम्म गरेर ४७ जिल्लाका ६८७ नेपालीलाई नेपाल भित्र्याइएको छ भने नेपालबाट एक हजार ४८३ भारतीयलाई भारत पठाइएको छ ।
नेपाल ल्याइएकाहरूमा भारतका विभिन्न सहरमा काम गर्न गएकाहरू फर्किएर आउँदा सीमापारि क्यारेन्टाइनमा राखिएका लगायत रहेको र भारत पठाइएकाहरूमा केही क्वारेन्टाइनमा राखिएकालगायत अधिकांश नेपालगञ्जमा आफन्तको घरमा फसेकाहरू रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताउनुभयो । नेपाल भित्रिएकाहरूलाई बुधबार रातदेखि नै दशगजा क्षेत्रमा राखिएको छ । शुक्रबार बिहानैबाट उनीहरूको आरडीटी परीक्षण भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।