अनलाईन न्युजपाटी, काठमाडौँ समाचारदाता, साउन २५।
निरन्तर पछिल्लो एक महिनामा प्रतितोला ५ हजार ३ सय रुपैयाँ बढेर सुनको मूल्य ७० हजार रुपैयाँ पुगेको छ । मूल्य आकासिँदा विक्री भने निकै घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अहिले दिनमा एक किलो पनि सुन विक्री हुँदैन । महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सुनको कारोबार ठप्प जस्तै रहेको बताउँछन् ।
यसअघि सुन चाँदी व्यवसायीहले बैंकबाट दैनिक २० केजीसम्म सुन उठाउँथे । तर सुन किन्ने ग्राहक घट्दा बैंकमा हाल करिब ७ सय किलो सुन थुपि्रएको छ ।
सरकारले काँचो सुन आयात र कारोबारको जिम्मा वाणिज्य बैंकहरुलाई मात्र दिएको छ ।
बैंकरहरुले सुन खरिदका लागि व्यवसायीसँग छलफल पनि गरेका छन् । तर बजारमा कारोबार नै नभएपछि समस्या भएको बरिष्ठ उपाध्यक्ष शाक्यले अनलाईन न्युजपाटीलाई बताए ।
व्यवसायीहरुकाअनुसार बढ्दो मूल्यले सुन धेरै कारोबार हुने पर्व तीजलाई समेत प्रभावित पार्ने सम्भावना छ ।