अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, भदौ ८ गते ।
दुई दिनसम्म चलेको संयुक्त सिरहा बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत कमल आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंह, घरेलु कार्यालय लहानका काजीमान लिम्बु, राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका रामानन्दप्रसाद गुप्तालगायतको सहभागिता रहेको थियो ।
सिरहामा अवैध ढंगले सञ्चालन गरेको भन्दै संयुक्त बजार अनुगमन संयन्त्रले ६ डेरी उद्योगमा सिलबन्दी गरेको छ । दुर्ग्न्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको डेरी उद्योग मध्येबाट सिरहा सदरमुकामस्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरंग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित सुधा दूध डेरी उद्योगमा सिलबन्दी गरिएको हो ।
सिलबन्दी भएका अधिकांश डेरी उद्योगमा गाईभैंसीको सट्टा प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको पाइएको थियो । कतिपयको डेरी उद्योगमा नेपाल सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको र दुर्ग्न्धित रूपमा डेरी उद्योग फेला परेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंहका अनुसार डेरी उद्योगीहरूलाई बारम्बार डेरी उद्योगको मापदण्ड अपनाउन निर्देशन दिएपछि अटेरी गरेकाले सिलबन्दी गरेको जानकारी दिए ।
उनले हालै गरेको अनुगमनमा युरिया मल, चिनी, मानव जीवनको स्वास्थ्यसँग प्रत्यक्ष असर गर्ने पाउडर दूधको प्रयोग, मापदण्डविपरीत, अत्यधिक फोहर मैलाजस्ता थुप्रै त्रुटि देखिएको बताए । सिरहामा यस्ता ४५ वटा दूध डेरी उद्योगहरू दर्ता भई सञ्चालनमा रहेका छन् । तीमध्ये कतिपयको कागजपत्र छैनन् भने कतिपयको मापदण्डविपरीत सञ्चालन गर्दै आइरहेका छन् ।
अनधिकृत रूपमा दर्जनौंको संख्यामा अवैध ढंगले डेरी उद्योगहरू सञ्चालन भइरहेका छन् । दर्तावाला सबै डेरी उद्योगलाई अनुगमन नगरिसकेकाले सम्भवतः ५० प्रतिशत डेरी उद्योग मापदण्डविपरीत सञ्चालन भएको हुन सक्ने जिल्ला प्रशासन कार्यालयका कमल आचार्यले जानकारी दिए ।
अनियमित ढंगले सञ्चालन गरिरहेका डेरी उद्योगलाई कानुनी दायरामा ल्याउन तथा मानवीय रूपमा अखाद्य उपभोग्य वस्तु तयार गरी बिक्रीवितरण गर्नबाट रोक्न अनुगमनको थालनी गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।