अनलाईन न्युजपाटी,रुकुम,समाचारदाता, पौष ३ गते।
रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्द बुधबार साँझ कुटिएका छन् । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिका वडानम्बर ३ का अध्यक्ष केशरमान विकलाई नियन्त्रणमा लिएको छ ।कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गरेका केसी र चन्द बुधबार बेलुका ६ बजेतिर आठबीसकोट नगरपालिका–९, राडीज्युलामा कुटिएका हुन् । आक्रमणबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको टाउकोमा चोट लागेको छ । चेन प्रहारबाट चोट पुगेको उनको टाउकोमा पाँच टाका लगाइएको छ ।त्यहाँ असुरक्षासँगै थप उपचार गर्नुपर्ने भएपछि उनी जिल्ला सदरमुकाम मुसिकोट आएका छन् । मुसिकोटमा पनि उपचार सम्भव नभएपछि आफू काठमाडौं जान लागेको उनले बताए ।कुटपिटमा परेका सूचना प्रविधि अधिकृत चन्दलाई भने सामान्य चोटपटक मात्रै लागेको छ ।