अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, पौष १५ गते।
एक आपसमा कथा, दन्त्य कथा, गाउँखाने कथा सुन्ने सुनाउने पर्वको रुपमा लिइने पुस १५ पर्व आज सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा मनाइँदै छ। यो पर्व डोटेली लोकसंस्कृतिमा पुस १५ को रुपमा चर्चित रहेको छ। पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा मनाउने गरिन्छ। यो दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ।
यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला बिषेशगरी चामलको पिठोबाट बनेको ढुकढुके रोटी तरुल, पिडालु, सखरखण्डलगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ। १५ गतेको बेलुकी प्रत्येकको घरघरमा ढुकढुके रोटी पकाएर खाने तथा टोल टोलमा सामुहिक रुपमा पनि पकाउने रातभर त्यहि रोटी खाएर वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा, गाउखाने कथा सुन्ने सुनाउने प्रचलन रहेको छ। पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको समेत गरिन्छ।