अनलाईन न्युजपाटी, मंसिर १२ गते।
एजेन्सी: इराकमा प्रदर्शनकारीहरुले नजफ सहरस्थित इरानी वाणिज्य दूतावासमा आगजनी गरेका छन् । इराकमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा प्रदर्शनकारीले इरानविरुद्ध ‘इराकबाट फिर्ता जा’ लगायतका नारा लगाउँदै वाणिज्य दूतावासमा आगजनी गरेका हुन् ।प्रदर्शनकारीहरुले इराकको आन्तरिक मामिलामा इरानले हस्तक्षेप गरेको आरोप लगाउँदै आएका छन् । इरानले इराकको वर्तमान सरकारलाई समर्थन जनाएका कारण प्रदर्शनकारीहरु इरानप्रति रुष्ट भएका हुन् ।समाचार एजेन्सीहरुका अनुसार प्रदर्शन सुरु हुनुअघि नै इरानी वाणिज्य दूतावासका कर्मचारीहरु सुरक्षित रुपमा बाहिर गइसकेका थिए । इराकमा इरानी कुटनीतिक नियागविरुद्ध यसै महिना भएको यो दोस्रो हमला थियो । यसअघि करबलामा यस्तै प्रकारको घटना भएको थियो ।दुई महिना यता इराकमा भइरहेको प्रदर्शन र हिंसाका क्रममा कम्तीमा ३४४ जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीहरु भ्रष्टाचार अन्त्य, रोजगारीको व्यवस्था र आधारभूत सुविधाको माग गर्दै आएका छन् ।आन्दोलनबाट दक्षिणी इराक र राजधानी बग्दाद बढी प्रभावित भएको छ ।