अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता, भदौ १।
भारत प्रशासित कश्मीरले संविधानमा पाएको विशेष दर्जा अन्त्य गरिएपछि छिमेकी पाकिस्तानबाट भारतविरुद्ध कडा प्रतिक्रिया आउने क्रम जारी छ।पाकिस्तानले शनिवार एक पटक फेरि भनेको छ, कश्मीरको निम्ति ऊ अन्तिम गोली र अन्तिम सैनिक रहँदासम्म लड्ने छ।विदेश मन्त्री शाह महमुद कुरैशीले भने, “पाकिस्तानको व्यावसायिक सेना भारतसँग टक्कर लिन तयार छ। हाम्रा सबै संस्था भारतविरुद्ध लड्न पूर्ण रूपमा तयार अवस्थामा छौ।कुरैशीले पाकिस्तानमा कश्मीरबारेको विशेष समितिको बैठकपछि उक्त धारणा व्यक्त गरेका हुन्।पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पनि भनेका छन्, कश्मीरकोनिम्ति पाकिस्तान अन्तिम सेना र अन्तिम गोली रहँदासम्म लड्ने छ।
उनले भने, “भारतले स्वतन्त्र कश्मीरबारे बिर्सियोस् र आफ्नो नियन्त्रणमा रहेको कश्मीरको बारेमा कुरा गरोस्। पाकिस्तान भारतको कुनै पनि दुस्साहसको जबाफ दिन तयार छ।”भारतीय नेताहरूले संसद्मा बोल्दै पाकिस्तान प्रशासित कश्मीरलाई पनि आफ्नो नियन्त्रणमा लिने धारणा व्यक्त गरेका थिए। जसलाई पाकिस्तानले स्वतन्त्र कश्मीर भन्ने गर्दछ।विदेशमन्त्री कुरैशीले कश्मीर मामिलाबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अनौपचारिक बैठक ऐतिहासिक भएको बताए।
सुरक्षा परिषद्का कुनै पनि स्थायी सदस्यले उक्त बैठकको विरोध नगरेको र त्यो पाकिस्तानको निम्ति ठूलो उपलब्धि भएको उनको भनाइ छ।तर पाकिस्तानकै केही पूर्व राजदूतले त्यसलाई कुनै उपलब्धि ठानेका छैनन्।