अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २१ गते
जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । स्थानीय तहमा समुदायका केही व्यक्तिहरुमा कोरोना संक्रमण देखिएका कारण समुदायमा संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम साउन २४ गते शनिबारदेखि साउन ३२ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लागु हुनेछ ।
अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ । स्वास्थ्य, विद्युत्, दूरसंचार, खानेपानी, दूध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सबै निकाय र सेवालाई पनि निषेध गरिएको छ ।
एम्बुलेन्स, शव बाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिएको छ । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई ऐन बमोजिम कारबाही हुनेछ ।