अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, भदौ २८ गते
निषेधाज्ञाको समयावधि धनुषामा पुनः एक हप्ताका लागि थपिएको छ । धनुषामा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञाको समयावधि पुनः एक हप्ताका लागि थपिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभरि कोरोना संक्रमणको जोखिम बढ्दै गएको र समुदायस्तरमा फैलिएकोले निषेधाज्ञाको समयावधि आइतवार राति १२ बजेपछि सकिन लागेपछि पुनः असोज ४ गते आइतवार राति १२ बजेसम्मका लागि थप गरिएको जानकारी दिए।
जिल्ला स्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतवारको निर्णय अनुसार किराना पसल , फलफुल र तरकारी पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ भने निषेधित बाहेक अन्य पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
यस्तै, निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । जिल्लाभित्र सबै प्रकारका निजी सवारी साधनहरु जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने निर्णय गरिएको सीडीओ भट्टराईले बताए ।