अनलाईन न्युजपाटी, सर्लाही,समाचारदाता, कार्तिक १३ गते
सर्लाहीको ईश्वरपुर नगरपालिका–९, मा चोरीको आरोपमा एक दलित युवकमाथि निर्घात कुटपीट भएको छ ।
वडाध्यक्ष अमिरीलाल साह सहितले ईश्वरपुरकै रामनगरका गोविन्द माझीलाई चोरीको आशंकामा निर्घात कुटपीट गरेको आरोप लागेको हो । युवकलाई अशोकको रुपमा बाँधेर मरणासन्न हुने गरी कुटपीट भएको मुसहर समुदायका अगुवा पाचु माझीले बताए । उनले निर्घात कुटपीटपछि युवकलाई गाउँलेहरुले प्रहरीमा बुझाएका बताए ।
आफ्नो वडामा विगत ३ महिनाको अवधिमा १४ वटा चोरीका घटनाहरु घटेको र सोही क्रममा ती युवकलाई समातेको साहले बताए । कुटपिटपछि गोविन्दको अवस्था गम्भीर रहेको र बयलबाँसस्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
यता घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षकले युवकलाई कुटिपिट गरिएको र बाँकी कुरा अनुसन्धानपछि भन्न मिल्ने बताए ।
त्यस्तै पीडक र पीडीत दुवै पक्षबाट निवेदन परेको एसपीले बताए । घटनामा संलग्न दोषी जो सुकै भएपनि कानून बमोजिम कारबाही गरिने एसपीको भनाइ छ ।