अनलाईन न्युजपाटी,धनगढी ,समाचारदाता,फाल्गुन १३ गते।
अबैध तरिकाले भारतबाट ल्याउँदै गरेको दशक्विन्टल कुखुरा सोमबार सशस्त्र प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ कालागौंडीबाट बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं.३५ गण हेड क्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी नायव निरीक्षक केशवदत्त विष्टको कमाण्डमा रहेको गस्ती टोलीले मोटरसाइलमा ल्याउँदै गरेको चारसय वटा जिउदो (१० क्विन्टल) कुखुरा बरामद गरेको हो।
बरामद कुखुरा दुईलाख ४० हजार मूल्य बरावर रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गणपति सशस्त्र प्रहरी उपरीक्षक विरसिंह शाहले अनलाईन न्युजपाटीलाई बताए। अबैध कुखुरा बोक्न प्रयोग गरिएका चार थान मोटरसाइल समेत बरामद गरिएको उनले बताए।
उनका अनुसार से २ प ६८३, म १ प ४६९, म २ प १२६४ र भारतीय यु.पी. ३१ वि.सी ८५०१ नम्बरका मोटरसाइल बरामद गरिएको छ। सशस्त्र प्रहरीको टोली देखेपछि कुखुरा तस्करीमा संलग्नहरू भागेको सशस्त्र प्रहरी उपरीक्षक शाहले बताए। बरामद गरिएका कुखुरा सरोकारवालाको रोहवरमा नष्ट गरिएको छ। बरामद मोटरसाइललाई भन्सारमा बुझाउने तयारी गरिएको छ।