अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, साउन १६ गते
बिहीबार राती विराटनगर ढाट नजिकै मोरङको बूढीगंगा गाउँपालिका–२ आरती स्ट्रिप्स अगाडी भएको यात्रु बहाक बस दुर्घटनामा परेर मृत्यु भएका व्यक्ति बसका सहचालक भएको खुलेको छ ।
दुर्घटनापछि चालकको पहिचान गर्न नसकेको प्रहरीले दुर्घटना मृत्यु भएका व्यक्तिलाई नै चालक रहेको आशंका गर्दै आएको छ । तर, उनी दुर्घटनामा परेको बसमा कार्यरत नभएर अर्कै बसका सहयोगी रहेकोको खुलेको हो ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सो दुर्घटनामा परि ३ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेहरूमा एक जना अन्दाजी ६० वर्षीय महिला नाम, वतन नखुलेको, भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका ७ का राजकुमार राई, सोही स्थानका कल्पना राई रहेका छन् ।
एक जना सोही गाउँपालिकाका ३५ वर्षीय मुना राई सामान्य घाइते भएका छन् । घाइते सबैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको बताइएको छ ।
गए राति करिव ८ बजेर ३०मिनेटमा उत्तरबाट दक्षिण विराटनगर तर्फ जाने क्रममा सडक बिचको डिभाइडरमा ठोक्किएर बस पल्टिएको प्रहरीले बताएको छ । अत्यधिक तीव्र गतिको कारण दुर्घटना भएको बताइएको छ ।