मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद आज देशभर हर्षोल्लासपूर्वक मनाइँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन १७ गते

इस्लाम धर्मावलम्बीले आफ्नो दोस्रो ठूलो पर्व बकर ईद (इदुल जोहा) आज (शनिबार) मनाउँदैछन् । मुस्लिम समुदायले दोस्रो ठूलो पर्वका रुपमा सद्भाव एवं शुभेच्छा आदानप्रदान गरेर यो चाड मनाउँछन् । मुस्लिम समुदायले यस पर्वका दिन सामूहिक रूपमा नमाज पढ्दै एकआपसमा शुभकामना साटासाट गर्ने गर्छन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

बकर–ईदलाई करिब चार हजार वर्षअघि हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका अगाडि प्रस्तुत गरेको कुर्वानी (बलिदानी)को सम्झनास्वरूप मनाइने पर्वका रुपमा लिइन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) को महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेकाले बकर ईद (इदुल जोहा) पर्व सावधानीका साथ मनाउन सबै इस्लाम धर्मावलम्बीलाई आग्रह गरेकी छन् ।

बकर इदका अवसरमा शुभकामना सन्देश दिँदै उनले सबैको सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *