अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २५ गते
नेपालबाट दक्षिणतिर कायम राखेको न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएसँगै वर्षाको सम्भावना बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद् शान्ति कँडेलका अनुसार न्यूनचापीय रेखा उत्तरतर्फ सर्दैछ । त्यसपछि नेपाल नजिक आइपुग्नेछ । त्यसैका कारण शनिबारदेखि नेपालमा मनसुन सक्रिय हुने क्रम बढ्ने उहाँले बतउनुभयो ।
साउन २५ गते (आईतबार)
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २ र बागमती प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।