अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १२ गते
कोरोना भाइरसका कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा आउने भएको छ ।
यसअघि समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त नाका पुनः बन्द भएको थियो ।
चिनियाँ अधिकारीहरुबाट आजदेखि नेपाली भन्सार यार्डसम्म सामान पठाउन सुरु गर्ने जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले बताए । ‘साँझसम्म तातोपानीमा चीनतर्फबाट सामान ल्याइदिने जानकारी ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले हामीलाई गराएको छ,’ प्रमुख जिल्ला अधिकारीले भने ।
नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ्ग गर्ने काम सकिएको तातोपानी भन्सार कार्यालय प्रमुखले बताए ।
भन्सार प्रमुखकाअनुसार अब नेपाली श्रमिकहरु चीनतर्फ जानु पर्दैन, चिनियाँहरुले नै कन्टेनर नेपाली यार्डमा ल्याइदिनेछन् ।
नेपाली यार्डमा रहेको आइसोलेटेड ठाउँमा चिनियाँले ट्रक छोडर जाने र त्यहाँबाट नेपालीले सामान लोड गर्ने गरी तयारी गरिएको छ ।
कोरोना महामारीका कारण बन्द भएको नाका आजदेखि पुनः खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ ।