अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस ५ गते।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन थालेपछि कञ्चनपुरको बेलौरी नगरपालिकामा पूर्ण लकडाउन गरिएको छ ।
कोरोना सङ्क्रमित बढ्न थालेसँगै कञ्चनपुरका स्थानीय तहमा निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन् ।
केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा निषेधाज्ञा लागु भएको हो ।

सञ्चालनमा आएका केही विद्यालयमा शिक्षक तथा विद्यार्थीलाई एकसाथ कोरोना देखिएपछि पुनः विद्यालय बन्द भएका छन्। त्यसैगरी दुई दिनअघि भीमदत्तनगरपालिकाले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरिएको जनाएको छ। शनिबार यहाँको दक्षिण क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ।
आइतबारबाट लागू हुने गरी एक सातामका लागि लकडाउन घोषणा गरिएको सामाजिक विकास समितिका संयोजक अर्जुन ढकालले जानकारी दिए । ‘२ जनाको मृत्यु भइसक्यो, कयौँ अझै जोखिममा छन्’ वडा नम्बर ४ का अध्यक्ष समेत रहेका ढकालले भने, ‘सचेत नभए समस्या अझै ठुलो हुनसक्छ ।’
उनका अनुसार एक सातासम्म विद्यालय, बजार, उद्योग सबै बन्द हुने छ । उखु ढुवानी गर्ने साधनलाई भने रोक नलगाइने छैन ।