अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदादाता,फागुन ११ गते।
टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ। टर्की र ग्रिसमा आकर्षक तलब दिने प्रलोभनमा पारेर उनले विभिन्न समयमा ३२ जनाको ३९ लाख ५६ हजार ठगी गरेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। पैसा लिएर फरार भएका उनलाई महाशाखाको टोलीले काठमाडौँको टेकुबाट पक्राउ गरेको थियो। आवश्यक अनुसन्धानपछि उनलाई थप कारवाहीका लागि आइतबार वैदेशिक रोजगार विभागमा बुझाइएको महाशाखाले जनाएको छ। उनीविरुद्ध गोपीराम पराजुलीले माग १२ गते ठगीको उजुरी दिएको र सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।