अनलाईन न्युजपाटी,बिराटनगर ,समाचारदादाता,फागुन १९ गते।
विराटनगरको फार्मेसीमा म्याद सकिएको औषधि राख्ने गरेको पाइएको छ । औषधि व्यवस्था विभाग विराटनगर शाखाले आइतबार आकस्मिक गरेको अनुगमनको क्रममा ठूलो सङ्ख्यामा म्याद सकिएका औषधि बरामद गरेपछि यस्तो रहस्य खुलेको हो ।विराटनगर–९ न्यूरो हस्पिटलअगाडि विकास मण्डलले सञ्चालन गरेको ‘हाम्रो फ्रेण्डसिप फार्मेसी’ मा स्टक गरेर राखिएको अवस्थामा म्याद सकिएका १५ प्रकारका विभिन्न औषधि बरामद गरेको नेपाल औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख दीपेन्द्र खड्काले जानकारी दिए । औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत चतुर्भुजप्रसाद यादव नेतृत्वको टोलीले हाम्रो फ्रेण्डसिप फार्मेसीबाट १५ प्रकारका १ सय ३९ थान बरामद गरेको खड्काले बताए ।‘बरामद औषधि ल्याएर हामीले अनुसन्धान शुरू गरेका छौं’ निमित्त कार्यालय प्रमुख खड्काले भने, ‘फार्मेसी सञ्चालकलाई आइतबार औषधि व्यवस्था विभागको कार्यालयमा ल्याएर बयान शुरू गरिएको छ ।’ सञ्चालक यादवले म्याद सकिएको औषधिमा लेबल प्रयोग गरी नयाँ मिति लगाएर औषधि बिक्री गर्न राखिएको हुनसक्ने भएकोले त्यही अनुसार विभागले विस्तृत अनुसन्धान शुरू गरेको हो ।यसअघि पनि विराटनगरका फार्मेसीमा नक्कली औषधि बिक्री वितरण गर्ने गिरोहका नाइके र फार्मेसी सञ्चालकलाई पनि पक्राउ गरेको थियो । भारतबाट अवैध रूपमा औषधि ल्याएर नेपालमा बिक्री वितरण गर्ने गिरोहलाई औषधि व्यवस्था विभागले पक्राउ गरेको थियो ।