आजदेखि नेपाल–भारत सीमामा थप कडाइ

अनलाईन न्युजपाटी काठमाडौँ, समाचारदाता, चैत २८ गते ।

नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ । त्यस्तै लकडाउन पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले सङ्केत गरेको छ । भारत–नेपाल बीचको सीमा खुला छ । खुला सीमाको ९२५ स्थानमा सशस्त्र प्रहरीसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गृह मन्त्रालयका उच्च अधिकारीका अनुसार सीमा नाका अनुगमन तथा आवतजावतमा कडाइ गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भएको छ । सीमा अनुगमन चौकी (बीओपी) सुरक्षा सशस्त्र प्रहरीको जिम्मेवारी भएकाले सशस्त्र प्रहरी बलको पाँच हजार जनशक्ति स्थलगत रूपमा खटिएको छ ।

नेपालको पूर्व–पश्चिम र दक्षिण गरी २६ जिल्ला भारतसँग जोडिएका छन् । तीमध्ये धेरै जिल्लामा स्थानीय बासिन्दाको वारि गाउँ छ भने पारिपट्टि बारी छ । त्यस्तै पारिपट्टि गाउँ वारि खेतबारी रहेको छ । त्यस्तै बुधबार अनौपचारिक बाटो प्रयोग गरी दार्चुलामा प्रवेश गरेका ३३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरमा पनि कृष्णपुर नयाँबस्ती र दोधारा चाँदनी लगायतका सीमाबाट अवैध प्रवेश भएपछि २० गतेबाट थप कडाइ गरिएको छ  ।

गृह मन्त्रालयले पनि सीमा नाकामा चौबीसै घण्टा सुरक्षा पहरा दिन संयुक्त सुरक्षा गस्ती, स्थानीय प्रशासनलाई उच्चसुरक्षा सतर्कता अपनाउन निर्देशन दिइसकेको छ । लकडाउनका क्रममा सीमापारि रोकिएका नेपालीको व्यवस्थापन भारत सरकारले र वारि रोकिएका भारतीय नागरिकको नेपाल सरकारले व्यवस्थापन गर्ने निर्णय गरिएको छ । दुई छिमेकी मुलुक चीनको तुलनामा भारतमा फैलिएको कोरोना सङ्क्रमण नेपालका लागि चुनौती बन्दै गएको छ ।

नेपालले आन्तरिक स्वास्थ्य सतर्कता तथा उपचार सेवा विस्तार गरेसँगै नेपाल–भारत सीमामा कडाइ गर्दा कोरोना भाइरस महामारीको सङ्क्रमणबाट नेपाललाई सुरक्षित राख्न सक्ने अपेक्षा गरिएको छ । सीमा जोडिएका प्रत्येक स्थानीय तहले अवैध प्रवेश र घुसपैठमा प्रतिबन्ध लगाइसकेका छन् । सीमा नाकामा प्रदेश सरकार, स्थानीय प्रशासन र स्थानीय तहको वडा स्तरसम्म सहकार्य गरी नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाइ गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *