अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २३ गते
यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पाएको छ।

नर्वेको नोबेल कमिटीकी अध्यक्ष बेरिट राइस एन्डर्सनले नोबेल शान्ति पुरस्कारको घोषणा गरिन्। उनले सन् २०१९ मा ८८ देशका करिब १० करोड मानिससम्म विश्व खाद्य कार्यक्रमले सहायता पुर्याएको भन्दै प्रशंसा गरेकी छन्।
यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि २११ जना व्यक्ति र १०७ संस्था मनोनयनमा परेका थिए। पुरस्कार जितेसँगै विश्व खाद्य कार्यक्रमले १ करोड नर्वेजियन क्रोनर पाउनेछ।
सन् १९०१ देखि दिन थालिएको नोबेल शान्ति पुरस्कार अहिलेसम्म २४ पटक संस्थाले पाएका छन्। अरू नोबेल पुरस्कारको घोषणा स्वीडेनको स्टोकहमबाट गरिने भए पनि शान्ति पुरस्कार नर्वेको ओस्लोबाट घोषणा हुन्छ।