अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक ११ गते
आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् ।
विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ ।
घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद विजयादशमीका दिन आफूभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ ।
यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षमा जस्तौ छैन । नजिकको परिवारका सदस्यबीच टीकाटाला गरी यस वर्षको दशैँ मनाइँदैछ ।