अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक ११ गते
डब्ल्यूएचओले कोरोनाभाइरसविरुद्धको लडाइँमा हार नखान सरकारहरूलाई अपिल गरेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारीको नियन्त्रणका लागि अब लकडाउन गर्नुनपर्ने जनाएको छ ।सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने उसको दृढता छ।
तर भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने भन्दै सङ्गठनले सचेत गराएको हो।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताए।
डब्ल्यूएचओले अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने जनाएको छ ।
पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा दोस्रो चरणको लहर देखा परेपछि ती देशहरूमा फेरि प्रतिबन्धहरू लागू गरिएपछि डब्लुएचओको यस्तो भनाइ आएको हो।