अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १६ गते
विजेता मुम्बई इन्डियन्सले यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा पुगेको छ ।
यूएईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै दोस्रो जित हात पारेको मुम्बई तालिकाको शीर्ष स्थानमा पुगेको हो ।
मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
पन्जाबको तर्फ बाट निकोलसले ४४ रन, मायांक अग्रवालले २५ रन बनाए । क्रिश्नापा गोथामले अविजित २२ रन जोड्दा कप्तान केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन जोडन सफल भए ।
मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ४५ बलमा ७० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै केइरन पोलार्डले अविजित ४७ रन जोड्दा हार्दिक पाण्डयले अविजित ३० रन, इशान किशन २८ रन, सूर्यकुमार यादवले १० रन बनाए ।
पन्जाबका सेल्डोन कोट्रेल, मोहमद शामी र क्रिश्नापा गोथामले एक एक विकेट लिए ।
जितसँगै मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ । चार खेल खेलेको मुम्बई दुई जित र दुई हारसहित रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिएको हो ।
प्रतियोगिता अन्तर्गत आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्नेछन् ।