अनलाईन न्युजपाटी,एजेन्सी ,समाचारदादाता,फागुन १३ गते।
भारतको राजधानी दिल्लीमा विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा पाँच जनाको ज्यान गएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भ्रमणको केही घण्टाअघि भएको उक्त प्रदर्शनका क्रममा एकजना प्रहरी र चारजना गैरसैनिकहरूको मृत्यु भएको छ ।गत वर्ष उक्त नयाँ कानून पारित भएपछि विरोध प्रदर्शनहरू गर्ने क्रममा राजधानीमा घटेको उक्त घटना सबैभन्दा हिंसात्मक भएको बताइएको छ ।उक्त नयाँ नागरिकता कानूनका समर्थक र विरोधीहरूबीच भएको मुठभेडका क्रममा सवारीसाधनहरूमा आगो लगाइएको थियो ।उक्त कानूनले भारतका बीस करोड मुसलमानहरूलाई निशाना बनाउने त्यसका आलोचकहरूले बताएका छन् ।उत्तर–पूर्वी दिल्लीस्थित मुसलमान बाहुल्य भएका क्षेत्रहरूमा आइतबारदेखि हिंसा सुरु भएको थियो जुन सोमवार पनि जारी रह्यो ।गत वर्षदेखि विरोध प्रदर्शन आरम्भ भएयता प्रहरी अधिकारीले ज्यान गुमाएको यो पहिलो घटना हो ।पछिल्लो मुठभेड आइतबार सुरु भएको थियो र दुवैपक्षले पहिले हिंसा भड्काएको भनेर एकअर्कालाई दोषारोपण गरेका छन् ।यस्तै सोमबार पनि हिंसा जारी रहँदा ढुङ्गामुढा गरिरहेको भीडलाई पन्छाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज पनि गरेको थियो ।कम्तीमा ३५ जनालाई गम्भीर चोटपटक लागेपछि दिल्लीस्थित जिटिबि अस्पतालमा उपचार भैरहेको अस्पताल अधिकारीहरूले जानकारी दिएका छन् ।