अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख १५ गते
कोरोनाभाइरस महामारीबाट अत्यन्त प्रभावित मध्येको स्पेनले गएको २४ घण्टामा एक महिनायता सबैभन्दा कम मृत्यु भएको जनाएको छ। स्पेन स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार २ सय ८८ मानिसहरूको मृत्यु भयो। जुन गत मार्च २० तारिखयताकै सबैभन्दा कम हो। शनिवार त्यहाँ ३ सय ७८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो। स्वास्थ्य मन्त्रालयले हालसम्म २३ हजार १ सय ९० जनाको मृत्यु भइसकेको जनाएको छ।
अधिकारीहरूले कोरोनाभाइरस महामारी फैलिएयता पहिलो पटक स्पेनमा एकैदिन ३ सय भन्दा कम मानिसहरूको मृत्यु भएको जनाएका छन्। यसले भाइरस नियन्त्रण सकारात्मक दिशातर्फ गइरहेको देखाएको उनीहरूको भनाइ छ। छ सातापछि बालबालिकालाई घरबाट बाहिर निस्कने अनुमति दिएपछि आइतवार स्पेनमा कैयौँ बालबालिकाहरू आफ्नो घरबाट बाहिर निस्किएका छन्।
गत मार्च १४ देखि देखि घरबाट बाहिर निस्कन लगाईएको रोक लकडाउनलाई खुकुलो पार्दै स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्ममा एक घण्टाका लागि घर बाहिर जान अनुमति दिएको छ।
बालबालिकालाई सार्वजनिक पार्क तथा घरभन्दा एक किलोमिटर पर जान भने रोक लगाइएको छ। सरकारी टेलिभिजन सम्बोधनमा उनले मे ४ देखि दैनिक जीवनका कतिपय प्रतिबन्धहरू हटाइने बताए। उनका अनुसार मानिसहरूले मास्क लगाएर सानो संख्यामा आफन्तहरूको घरमा जान पाउनेछन्। पार्कहरू खोलिनेछन् तर विद्यालयहरूले सेप्टेम्बरसम्म कक्षा सुरु गर्ने छन्।