अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख २९ गते
विश्वभरि कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि हुने मानिसको सङ्ख्या ४० लाखभन्दा बढी भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ। उक्त विश्वविद्यालयले कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित तथ्याङ्क सङ्कलन तथा प्रकाशन गर्दै आएको छ।
कोरोनाभाइरसका कारण विश्वभरि अहिलेसम्म दुई लाख ७७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। अमेरिका सबैभन्दा बढी प्रभावित देश बनेको छ। त्यहाँ विश्वभरि देखिएको कुल सङ्ख्याको एकचौथाइ सङ्क्रमण देखा परेको छ। कोभिड-१९ का कारण विश्वभरि भएको मृत्युमध्ये एकतिहाइ अमेरिकीमा भएको हो।विशेषज्ञहरूले कैयौँ देशमा पर्याप्त परीक्षण नभएकाले सङ्क्रमणको सङ्ख्या कम देखिएको हुनसक्ने बताएका छन्।
स्पेनसहित कतिपय देशमा दैनिक रूपमा हुने सङ्क्रमणमा कमी आएको छ। तर लकडाउन खुकुलो पारिँदा “दोस्रो चरणको सङ्क्रमण” देखिने खतरा बढ्ने विज्ञहरूले चेतावनी दिएका छन्। त्यसका अतिरिक्त कोरोनाभाइरस महामारीका कारण विश्वव्यापी बजार र आपूर्ति प्रणाली प्रभावित भएपछि त्यसबाट विश्वभरि अर्थतन्त्र प्रभावित भएको छ।