अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असार १४ गते
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ हरूलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्।
ती चिनियाँ अधिकारीहरू हङ्कङको स्वतन्त्रतालाई सङ्कुचित पार्ने योजनामा सहभागी भएको अमेरिकाको निष्कर्ष छ। पोम्पेओका अनुसार अमेरिकी प्रतिबन्ध सीपीसीका पदासीन र भूतपूर्व अधिकारीहरूप्रति लक्षित गरिएको छ।
यो निर्णय हङ्कङको स्वायत्तता विरुद्ध ल्याउन लागिएको सुरक्षा कानुनका लागि चीनलाई दण्डित गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको वाचानुरूप गरिएको हो। चीनले अमेरिकी निर्णय “त्रुटिपूर्ण” भएको भन्दै फिर्ता हुनुपर्ने प्रतिक्रिया दिएको छ।
चिनियाँ संसद्को बैठकको पूर्वसन्ध्यामा अमेरिकाले चिनियाँ नेताहरूलाई अमेरिका प्रवेश गर्न नदिने घोषणा गरेको हो। आइतवारदेखि आरम्भ हुने न्याश्नल पीपल्स कङ्ग्रेसको स्थायी समितिले हङ्कङका लागि बनाइएको कानुनबारे छलफल गर्नेछ। चीनले प्रस्तावित गरेको कानुनमा हङ्कङमा चीनको अधिकारविरुद्ध हुने गतिविधिहरू अपराध ठहरिने तथा बेइजिङले त्यहाँ आफ्ना सुरक्षा निकायहरू स्थापित गर्न सक्ने प्रावधानहरू छन्।