अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २० गते।
यही फागुन २३ गतेदेखि कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गर्ने भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने जानकारी दिनुभयो ।
उहाँले आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत आग्रह गर्नुभयो । यसैगरी आजै सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलगायतले पनि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनुभएको छ ।
सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गत माघ १४ गतेदेखि सञ्चालन गरेर सम्पन्न भएको थियो । सो अवसरमा खोप नेपालको कूल जनसङ्ख्याको १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो ।