अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ५ गते।
डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको टोलिले बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मान्छे तथा घरेलु जनावरलाई आक्रमण गर्ने २ वटा नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको हो।
केही दिनअघिदेखि क्यामरा ट्रयापिङ प्रविधिबाट बाघको अनुगमन गरिएको थियो । लामो समयदेखि मानिसलगायत पशुचौपायामाथि आक्रमण गरिरहेको बाघ पहिचान भएपछि नियन्त्रण लिइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । बाघ गेरुवा गाउँपालिका–४ राजीपुरमा फेला परेको थियो । त्यसपछि डार्ट (बेहोस बनाउने औषधि) प्रयोग गरी नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।
नियन्त्रणमा लिइएको बाघ नंग्रा खिइएको र दाँत भाँचिएको अवस्थामा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जमा निर्माण गरिएको उद्धार केन्द्रमा राखिने उनले बताए । बाघ बुढो भएका कारण सजिलो सिकार खोज्दै मानिस र पशु चौपायामाथि आक्रमण गरेको हुन सक्ने निकुञ्जले जनाएको छ ।