पुनः प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले पदको शपथ आज लिँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख ३१ गते।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।

प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उहाँलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गर्नुभएको छ ।

 तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २:३० बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गर्नुभएको थियो ।

उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत दलले बहुमत सदस्यको दाबी पेश गर्ने कोसिस गरे पनि ती दल असफल भएका थिए । उक्त अवधि सकिएपछि संविधानको धारा ७६ को (३) बमोजिम ठूलो दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *