अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २४ गते।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आजबाट सुरु हुँदैछ।
आज दिउँसो १ बजे ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुन लागेको हो ।
उद्घाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र काँग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने काँग्रेसका प्रवक्ताले जानकारी दिए ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी करिब चार हजार तीन सय प्रतिनिधिहरुले काँग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । काँग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह महामन्त्रीका लागि निर्वाचन हुनेछ ।
त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।
काँग्रेसको बन्दसत्र र निर्वाचन प्रक्रिया आजैबाट सुरु हुनेछ । शनिबार उम्मेदवारी टुङ्गिएपछि आइतबार मतदान र मतगणनाको कार्यक्रम छ । भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान हुनेछ ।