मिथिलामा चैती छठ आजबाट सुरु

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र २२ गते।

मिथिलामा चैती छठ आजबाट सुरु भएको छ ।

चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुले ‘नहाय–खाय’ विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।

पर्वको दोस्रो दिन अर्थात् चतुर्थीको दिनलाई खरना अर्थात् पापको क्षयको रूपमा लिइन्छ। गाईको गोबरले लिपपोत गरी अरवा चामलको पिठोबाट तयार पारेको झोलले भूमि सुशोभित गरेर व्रती महिलाले यो दिन दिनभरि निर्जला व्रत बस्ने गर्दछन् । राति चन्द्रोदयपछि चन्द्रमालाई खीर चढाई सो खीर प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ ।

तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अघ्र्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।

अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई घाटमै अघ्र्य दिएर पर्व सम्पन्न गरिन्छ । यो विधिलाई ‘भोरका अरख’ भनिन्छ । छठपर्वमा ठकुवा, भुसुवा (कसार)सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री बर्तालुले अर्घका बेला सूर्यतर्फ देखाउने गर्छन् ।

छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्टरोग निवारणका लागि गरेका र त्यसैबेलादेखि प्रारम्भ भएको मानिन्छ । व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *