विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर १० गते। 

सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज जनकपुरधाममा तिलकोत्सव मनाइँदैछ ।

त्रेता युगमा राज जनक र भगवान् रामका बुवा दशरथले अंकमाल गरेको दिनलाई स्मरण गर्दै विवाह पञ्चमीको चौथो दिन तिलकोत्सव मनाइन्छ ।

उक्त दिनलाई स्मरण गर्दै आज राममन्दिरस्थित तिलकोत्सव मनाइने छ, जहाँ जानकी मन्दिरका महन्थ देवी जानकीको बुवा र राम मन्दिरका महन्थ भगवान् रामको बुवाको रुपमा अंकमाल गर्नेछन् ।

विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ विधि समापन भएको छ भने आज चौथो दिन तिलकोत्सव मनाइँदै छ ।

त्यस्तै भोलि पाँचौ दिन मटकोर र छैठो दिन रामसीता स्वयंवर तथा विवाह गर्ने कार्यक्रम छ ।

सप्ताहव्यापी विवाह महोत्सवको अन्तिम दिन मङ्सिर १३ गते मङ्गलबार रामकलेवा गरी जन्ती बिदा गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् सम्पन्न हुनेछ ।

यस वर्ष विवाहपञ्चमीमा भारतको सीमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौं श्रद्धालु सहभागी हुने अनुमान छ । रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागी भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *