अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १ गते।
आईसीसी क्रिकेट विश्वकप लिग टु श्रृंखला अन्तर्गत नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।
आसिफ शेख र कुशल भुर्तेलले ओपनिङमा कीर्तिमानी साझेदारी गरेपछि ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालले ओपनिङका लागि एकदिवसियमा गरेको यो नै ठूलो साझेदारी हो । यसअघि आसिफ र कुशलले नै गत वर्ष ओमानमा अमेरिका विरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।
अमेरिका भ्रमणमा नेपालले पहिलो जित निकाल्दा आसिफले ८६ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा ६२ रन बनाए । यस्तै कुशलले ७५ बल खेल्दै ५ चौका मद्दतमा ५६ रन जोडे । देव खनाल १० रन बनाएर आउट भए । रोहित पौडेलले अविजित २६ रन बनाए ।
लिग टुमा सातौं जित निकालेको नेपाल १५ खेलबाट १५ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ । अब नेपालले श्रृंखलाको अन्तिम खेलमा आजै अमेरिकासँग खेल्नेछ ।