काठमाडौंको तीनकुनेस्थित गैरिगाउँमा चिनियाँ लगानीमा सञ्चालित कल सेन्टरमा प्रहरीको छापा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ११ गते।

काठमाडौंको तीनकुनेस्थित गैरिगाउँमा चिनियाँ लगानीमा सञ्चालित कल सेन्टरमा प्रहरीले सोमबार छापा मारेको छ ।

टेलिफोन बुथ, साइबर क्याफे लगायत कामका लागि भनेर स्काई वर्ल्ड सर्भिस सेन्टर कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको प्राइभेट कम्पनी हो। यो कम्पनी २०७७ माघ १५ गते दर्ता भएको थियो।

कम्पनीको कार्यालय काठमाडौं महानगरपालिका-९ तीनकुनेस्थित कम्पाउन्डसहितको घरमा थियो।

सोमबार त्यही स्काई वर्ल्ड सर्भिसको कार्यालयमा प्रहरी पुग्यो। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले त्यहाँ छापा मारेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बोहोराका अनुसार पक्राउ पर्नेमा कम्पनीका व्यवस्थापकीय प्रमुख ४३ वर्षीय चिनियाँ नागरिक हु एन्ह्वा, भारतीय नागरिक मनोज शैनी, नेहा गुप्तालगायत छन् । उनका अनुसार छापा मारिएको स्थानबाट ८ लाख २९ हजार रुपैयाँ, २६२ ल्यापटप र ७४८ डेस्कटप कम्प्युटर बरामद भएको छ ।

प्रहरीका अनुसार यो कल सेन्टरका प्रमुख चिनियाँ नागरिक हुन्। कम्पनी भने उनको नाममा दर्ता छैन। काठमाडौं महानगरपालिका-३ बस्ने विजय श्रेष्ठको नाममा छ। श्रेष्ठ अहिले फरार छन्।

प्रहरीका अनुसार उनीहरूको काम नेपालीलाई सेवा दिने होइन। बरू भारतीय नागरिकलाई ऋण प्रवाह गर्ने हो। यति मात्रै होइन उनीहरूले ऋणको चर्को ब्याजसमेत लिने गरेको अनुसन्धानबाट देखिएको छ।

यी कल सेन्टरमा काम गर्ने सबै नेपालीहरू थिए। उनीहरूको ‘टार्गेट’ भारतका निम्न वर्गका सामान्य मानिसहरू हुन् जसलाई छोटो समयको लागि पैसा सापटीको आवश्यक परेको हुन्छ।

उनीहरूको ठगी धन्दा विज्ञापनबाट सुरू हुन्छ। भारतीय टेलिभिजन, फेसबुक, इन्स्टाग्रामलगायत विभिन्न माध्यममा उनीहरूले विज्ञापन दिन्थे।

‘छोटो समयका लागि ऋण चाहिएमा… एप डाउनलोड गर्नुहोस् र सजिलै पैसा पाउनुहोस्,’ भनेर विज्ञापनमा लेखिएको हुन्थ्यो।

‘छोटो समयको लागि पैसा चाहिने र त्यहीबेला विज्ञापन पनि देखिने भएपछि मानिसहरू त्यसैको पछि लाग्ने भए,’ प्रहरी उपरीक्षक मैनालीले भने।

उनीहरूले ‘इजी लोन’, ‘गो-लोन’, ‘जी पे’ लगायतका एप बनाएका थिए। ऋण लिन ती एप डाउनलोड गर्नुपर्थ्यो। एप डाउनलोड गरेपछि उनीहरूलाई त्यसमा भनिए अनुसारको फारम भर्न लगाइन्थ्यो। एपमा आधार कार्ड र मतदाता परिचयपत्र पनि स्क्यान गरेर राख्नुपर्थ्यो।

सबै विवरणहरू भरिसकेपछि जुन फोन, कम्प्युटर, ल्यापटप, ट्याबलगायत उपकरणबाट त्यो एप डाउनलोड गरिएको हो, त्यसमा एउटा लिंक आउँथ्यो। त्यो लिंकमा पनि भनेअनुसारकै विवरणहरू भरेपछि भने लोन पास हुने सिस्टम बनाइएको थियो।

उनीहरूले ५० हजार भारतीय रुपैयाँसम्म ऋण दिने भनेका हुन्थे। अधिकांशलाई दिएको ऋण भने २० हजार मात्रै छ।

ऋण लिने व्यक्तिले पठाएको लिंकअनुसारको फारम भरेपछि उनीहरूको ऋण स्वीकृत हुन्थ्यो। त्यसपछि भारतकै कुनै बैंकमार्फत् डिजिटल वालेटको प्रयोग गरी उनीहरूलाई पैसा दिइन्थ्यो।

प्रहरीका अनुसार उनीहरूले २० हजारको ऋण स्वीकृत गराए पनि त्यसबापत् लिने ब्याज भने चर्को हुन्थ्यो। पैसा दिँदा सुरूमै उनीहरूले २० हजारको ब्याज भनेर पाँच हजार रुपैयाँ काट्थे।

ऋण तिर्ने अवधि एक हप्ताको मात्रै हुन्थ्यो। काठमाडौं, बुटवलका कल सेन्टरमा काम गर्ने युवा-युवतीहरूले प्रविधिको प्रयोग गरी यहीँबाट ऋण लिने व्यक्तिलाई फोन गर्थे।

‘ऋण तिर्न सात दिनको समय उनीहरूलाई दिइएको हुन्छ। छैठौं दिनमा उनीहरूले ऋणीलाई फोन गर्ने र भोलि ऋण तिर्ने बेला भयो है भनेर सम्झाउने गरेको देखियो,’ उनले भने।

फोन गर्न आइएमओ र ह्वाट्सएपको प्रयोग गर्थे।

सजिलै ऋण फिर्ता गर्नेहरूबाट उनीहरूले १५ हजार लगानी गरेर हप्ताको पाँच हजार ब्याज पाउँथे, ऋण तिर्न नसक्नेहरूमाथि भने मानसिक यातना दिन सुरू गर्थे।

ऋण दिनुअगाडि नै यस्ता कल सेन्टरले ऋणिले पठाएको लिंकबाट उसको मोबाइल, फोनलगायत उपकरण ह्याक गरिसकेका हुन्थे। त्यो कुरा ऋणीलाई थाहै हुन्नथ्यो।

कल सेन्टरमा काम गर्नेहरूले ऋण फिर्ता नगरूञ्जेल फोन गरेर टर्चर दिने गरेको पाइएको छ।

सुरूमा ऋण लिने व्यक्‍तिलाई नै फोन गरेर थर्काउँथे। तथानाम मुख छाडेर गाली गर्ने गरेको अनुसन्धानबाट पनि देखिएको छ।

त्यसपछि भने उनीहरूले ऋणिलाई ब्ल्याकमेलिङ गर्ने अनुसन्धानमा संलग्न एक प्रहरीले बताए।

‘लिंक पठाउँदा सबै ह्याक गरिसकेको हुन्छ। त्यो ह्याक गर्दा उनीहरूले मोबाइलमा जे-जे छ सबै तान्छ। यहाँको कल सेन्टरमा आउँछ,’ उनले भने, ‘त्यसैलाई आधार बनाएर उनीहरूले फोन गरेर मुख छाड्ने, थर्काउनेदेखि सबै गर्ने हो।’

यति मात्रै होइन, उनीहरूले ऋणीको फोनको विवरण पनि लिएका हुन्थे। सबैभन्‍दा धेरै फोन क-कसलाई गरेको छ भनेर हेर्थे। आमा, बुवा, श्रीमती, गर्लफ्रेन्ड र अन्य आफन्तमध्ये जसको नम्बर छ उनीहरू सबैलाई फोन गरेर धम्क्याउने र बेइज्जत गर्ने गरेको ती प्रहरी अधिकारीले बताए।

यस्ता कल सेन्टरबाट लिएको ऋण समयमै तिर्न नसक्दा भारतमा आत्महत्याको घटनासमेत भएको प्रहरीको भनाइ छ।

‘उनीहरूको उद्देश्य जसरी हुन्छ पैसा फिर्ता गराउने हो। फसाउँदै लगेर पैसा असुली गर्ने हो। यसरी कतिलाई ठगेठगे,’ उनले भने।

कल सेन्टरका काम गर्ने नेपालीलाई  चिनियाँले तलब दिएर राखेका थिए। उनीहरूलाई १५ हजार देखि ८० हजारसम्म तलब दिएको अनुसन्धानबाट देखिएको छ। उनीहरूको पद, कामको आधारमा पैसा दिने गरेको प्रहरीको भनाइ छ। कतिपयलाई बैंकमार्फत् त कतिलाई हातमै पैसा दिइन्थ्यो।

धेरै ऋणीबाट पैसा उठाउन सके काम गर्नेले कमिसन पाउँथे।

प्रहरीले अहिले नियन्त्रणमा लिएका ३६ जना पनि प्रमुख पदमा बसेका मानिसहरू हुन्।

यस्तो प्रकृतिको अपराध नेपालमा दुई वर्षअघिदेखि मात्रै सुरू भएको प्रहरी अधिकारीहरू बताउँछन्। यसअघि उनीहरूले श्रीलंकामा बसेर यस्तो सञ्चालन गरिरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए। पछि चिनियाँ नागरिकहरूले भारतीयसँग मिलेर नेपालबाट यस्तो आपराधिक क्रियाकलाप सञ्चालन गरिरहेको पाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *