अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस १६ गते।
आज पुस १६ गते । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ/आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।
भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्ष अघि आजकै दिन स्वदेश फर्किएका थिए।
आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने जनाइएको छ ।