अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,चैत्र २१ गते।
आईपीएलमा आइतबार राति भएको खेलमा पन्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ५४ रनले हराएको हो।
पन्जाबले आइपिएलमा दोस्रो जित निकाल्दा चार पटकको च्याम्पियनसमेत रहेको चेन्नई सुपर किंग्सको लगातार तेस्रो हार हो।
१ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नई १८ ओभरमा अलआउट हुँदै १ सय २६ रनमा समेटियो।
चेन्नईका शिवम दुबेले सर्वाधिक ५७ रन बनाए। महेन्द्रसिंह धोनीले २३ रन बनाउँदा अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
एक समय ३६–५ को स्थितिमा रहेको चेन्नईलाई छैठौं विकेटका लागि धोनी र दुबेले ६२ रनको साझेदारी गर्दै उकासेका थिए। तर उनीहरूले टोलीलाई हारबाट जोगाउन भने सकेनन्।
पन्जाबका स्पिनर राहुल चाहरले सर्वाधिक ३ विकेट लिए। लियाम लिभिङस्टोन र आरोराले २-२ तथा कागिसो रबाडा, अर्शदीपसिंह र ओडेन स्मिथले १–१ विकेट हात पारे।
त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो। पन्जाबका लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन बनाए। यस्तै शिखर धवनले ३३ रन बनाउँदा अन्यले राम्रो रन बनाउन सकेनन्।
धवन र लिभिङस्टोनले आक्रामक ब्याटिङ गर्दै विशाल योगफलको आधार तय गरेका थिए । तेस्रो विकेटका लागि उनीहरूले ९५ रनको साझेदारी गरेका थिए। तर तल्लोक्रमका ब्याटर चल्न नसक्दा उक्त योगफलमा पुग्न सकेन ।
चेन्नईका क्रिस जोर्डन र ड्वेन प्रिटोरियसले २-२ विकेट लिए। यस्तै मुकेश चौधरी, ड्वेन ब्राभो र रविन्द्र जडेजाले १–१ विकेट हात पारे।
पन्जाबले अव शुक्रबार गुजरात टाइटन्ससँग खेल्नेछ ।