अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख ३ गते।
आईपीएलमा शुक्रबार भएको खेलमा हैदरावादले कोलकाता नाइड राइडर्सलाई ७ विकेटले पराजित गरेको हो ।
योसँगै हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हार सहित सातौं स्थानमा उक्लिएको छ।
कोलकाताले जितको लागि दिएको १ सय ७६ रनको लक्ष्य हैदराबादले १७.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
हैदराबादलाई लगातार तेस्रो जित दिलाउन राहुल त्रिपाठी र एडेन माक्ररमले उत्कृष्ट ब्याटिङ गरे।
राहुल त्रिपाठीले ३७ बलमा ४ चौका र ६ छक्कासहित ७१ रन बनाउँदा माक्ररम ३६ बल खेल्दै ६ चौका र ४ छक्कासहित ६८ रनमा अविजित रहे।
ओपनर अभिषेक शर्मा ३ रनमा आउट हुँदा कप्तान केन विलियम्सनले १७ रन जोडेका थिए। निकोलस पुरन ५ रनमा अविजित रहे।
तेस्रो विकेटका लागि एडेन माक्ररम र राहुल त्रिपाठीले ९४ रनको साझेदारी गर्दै सानदार जितको आधार तय गरे। कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए। तीव्र गतिका बलर प्याट कमिन्सले १ विकेट हात पारे।
त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७५ रन बनायो। कोलकाताका लागि नितिश रानाले सर्वाधिक ५४ रन बनाए । आन्द्रे रसेल २५ बलमा ४ चौका र ४ छक्कासहित ४९ रनमा अविजित रहे।
कप्तान श्रेयस ऐरले २८ रन बनाउँदा बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।