अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र ३ गते।
उपराष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो ।
बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवार छन् । नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमीला कुमारी यादव र रामसहायप्रसाद यादव उम्मेदवार छन् ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।
उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । उनीहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको शर्माले बताइन् ।