अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २० गते।
कोरोना महामारीको नयाँ भेरियन्टको दोस्रो लहर सुरु भएसँगै महोत्तरीमा निषेधाज्ञाको समय थपिएको छ ।
जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र महोत्तरीको बुधबार बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

तेस्रो पटक थपिएको निषेधाज्ञा आज बिहीबार राति १२ बजेदेखि जेठ ३१ गतेसम्म हुने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। जिल्लाभर लागू हुने गरी एक सातासम्म निषेधाज्ञा थपिएको हो।
निषेधाज्ञामा खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुकी ४ बजे देखि ७ बजेसम्म खोल्न पाइने निर्णय समेत भएको हो ।
वैवाहिक कार्यक्रममा भने डीजे तथा ब्याण्ड बाजालाई बजाउनमा रोक लगाइएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र भौतिक दूरी कायम गरी बढीमा १५ जनामा सीमित गर्ने निर्णय गरिएको सीडीओ भट्टराईले बताए ।