हिरासतमा रहेको चालकको मृत्यु पश्च्यात अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

अनलाईन न्युजपाटी,डोटी,समाचारदाता, मंसिर १२ गते।

डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु भएको विषयलाई लिएर स्थानीयको झण्डै दुई घण्टाको अवरोध पछि राजमार्ग खुलेको छ। घटना अनुसन्धान गरी दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले भीमदत्त पन्त राजमार्गको गैरा बजारमा हिजो दिउँसो करिब दुई घण्टा सडकमा अवरोध सिर्जना गरेपनि अहिले खुलेको प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले स्थानीयले अवरोध हटाएपछि बिच सडकमै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको जानकारी दिए। स्थानीयले आज दुई घण्टाका लागि राजमार्ग अवरुद्ध पारेपनि माग पूरा नभए भोलीदेखि अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएका छन्।मंसिर ८ गते डोटीको गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीले हिरासतमा लिएका जीप चालक गणेश पालीको शंकास्पद मृत्यु भएको थियो।  डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ घर भएर कैलालीको गोदावरीमा बस्दै आएका २१ वर्षीय चालक पालीले बिच सडकमै गाडी रोकेर अवरोध सिर्जना गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो तर प्रहरीले थुनामा लिएको केही समयपछि उनको मृत्यु भएको थियो। प्रहरीले भने शौचालयबाट फर्किने क्रममा लडेको र उपचारका लागि डडेल्धुरा लैजादै गर्दा मृत्यु भएको दावी गर्दै आएको छ। मृतकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *