अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता, भदौ १३ गते ।
पाँच महिनाअघि गत वैशाख १५ गते बलात्कृत भएकी धनुषा क्षिरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी १४ वर्षीया बालिका अझै विक्षिप्त अवस्थामा छिन्।काठमाडौँस्थित पाटन अस्पतालमा करिब डेढ महिना लामो उपचार पश्चातसमेत उनी मानसिक रुपमा अझै पनि सबल हुन सकेकी छैनन्। निद्रामै डराएर चिच्याउने, झस्किने, बरबराउने लगायतका मानसिक समस्याले अझै पनि पीडित बालिकालाई सताइरहन्छन्। पाटन अस्पतालको बाल मानसिक रोग वार्डमा उपचारपछि उनलाई चिकित्सकले घटनास्थल नजान दिएको सल्लाहअनुसार काठमाडौँमा राखिएको हो।आर्थिक अवस्था कमजोर रहेका उनको बुवाले काठमाडौँमा सैलुनमा काम गरी जसोतसो भाडामा कोठा लिइ दुइटै छोरीलाई काठमाडौँमै राखेका छन्। घटना स्मरण भएलगतै घरिघरि छटपटिने ती बालिकालाई जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको थियो। जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि वैशाख १८ गते जनकपुरस्थित धनुषा अस्पतालमा उपचारका लागि पठाइएको थियो। त्यहाँपनि उपचार सम्भव नभएपछि वैशाख २२ गते उनलाई पाटन अस्पताल पठाइयो तर प्रहरीले भने समन्वय नगरेको पीडित परिवारको आरोप छ। स्थानीयले इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई दबाब दिएपछि मात्र प्रहरीले अस्पतालमा आफ्ना प्रतिनिधि पठाए। घटनापश्चात पीडितसँगै उनकी बहिनीले समेत पढाइ छाडिसकेकी छन्। ‘पढने इच्छा छ, विद्यालय जान्छु भन्छिन् तर मानसिक रुपमा अझै विक्षिप्त छ त्यसैले स्कुल पठाएका छैनौ। अब हामीलाई छोरीको भविष्यको चिन्ता छ,’ उनको बुवाले भने।