अनलाईन न्युजपाटी,चितवन ,समाचारदाता भदौ ३१ गते।
नारायणगढस्थित चितवन मेडिकल कलेजमा पछिल्लो १४ दिन पढाइ ठप्प छ। विद्यार्थी दिनदिनै आन्दोलन गर्छन्। सरकारले तोकेभन्दा बढी शुल्क नतिर्ने र यसअघि कलेजले अवैधानिक रूपले लिएको पैसा फिर्ता वा समायोजन गर्नुपर्ने माग राखेर विद्यार्थीले आन्दोलन चर्काएपछि मेडिकल कलेज प्रशासनले सूचना जारी गरेर कलेज बन्द गरेको हो। प्रशासनले विद्यार्थीलाई होस्टेल छाड्न पनि सूचना निकालेको छ।अहिले कलेजले कुनै पनि विद्यार्थीलाई कलेजको अस्पतालमा छिर्न दिएको छैन।
‘बिरामी विद्यार्थीलाई उपचार गर्न पनि अस्पतालभित्र छिर्न दिएनन्। अर्कै अस्पताल जानु भने,’ एमबिबिएस चौथो वर्षकी विद्यार्थी मान्यता थापाले भनिन्। विद्यार्थीहरूले आन्दोलन जारी राखेका छन्। चितवन मेडिकल कलेजमात्र होइन अहिले देशैभरिका मेडिकल कलेजहरूले सरकारले तोकेभन्दा धेरै शुल्क विद्यार्थीसँग उठाउँछन्। यस्तो अवैधानिक शुल्कविरूद्ध विद्यार्थीहरूले पटक-पटक आन्दोलन गर्दै आएका छन्। कलेजहरूले ती आन्दोलनलाई कहिले प्रशासनको सहयोगले त कहिले अन्य तिकड्म प्रयोग गरेर दबाउँदै आएका छन्।पोखरास्थित गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरूले कलेजले उठाउने अवैधानिक शुल्कविरूद्ध गत माघमा आन्दोलन छेडे। आन्दोलन ६१ दिनसम्म चल्यो।
त्यसपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले निजी कलेजका सञ्चालक र विद्यार्थीहरूलाई बोलाएर वार्ता गराए। वार्तामा सहमति निस्किएन। वार्तामा उपस्थित निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारी तथा चितवन मेडिकल कलेजका सञ्चालक हरिसचन्द्र न्यौपानेले सो विषयमा शिक्षा मन्त्रालयले दिने निर्देशन आफूहरूलाई मान्य हुने बताए।शिक्षा मन्त्रालयले २०७५ साल चैत १२ गते निजी कलेजहरूलाई सरकारले तोकेभन्दा बढी शुल्क लिएको भए एक महिनाभित्र फिर्ता गर्न निर्देशन दियो। शुल्क फिर्ता भए/नभएको अनुगमन गर्न एक समिति बनाउने निर्णय गर्यो।