अनलाईन न्युजपाटी,वीरगञ्ज ,समाचारदाता,कार्तिक १७ गते।
पर्साको ठोरी गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला परेको छ । ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चादेखि उत्तरतर्फ चितवन राष्ट्रिय निकुञ्ज नजिकैको झाडीमा अन्दाजी १७/१८ बर्षीया किशोरीको शव भेटिएको हो । गाईगोरु चराउन जंगल गएका गोठालाले आइतबार अपरान्ह शव देखेपछि गाउँमा हल्ला गरेको र गाउँलेले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।तराई मुलको जस्तो देखिने गहुँगोरो वर्णकी मृतक किशोरीको पहिचान खुल्न नसकेको सुवर्णपुर प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक निलराज काफ्लेले जानकारी दिए । ‘रातो साडी लगाएको, खुट्टा रंग्याएको किशोरीको शव झाडीमा भेटिएको छ,’ सप्रनी काफ्लेले भने, ‘घाँटीको केही भाग रेटिएको छ ।’ सप्रनी काफ्लेले शवको वरिपरि हतियार नभेटिएकोले घाँटी कुन हतियारले रेटिएको हो ? भन्ने पुष्टी हुन नसकेको जानकारी दिए ।घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट डीएसपी गौतम थापासहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । घाँटी रेटिएको अवस्थामा महिलाको शव भेटिएको जानकारी आएकोले घटनास्थलतर्फ जान लागेको डिएसपी थापाले बताए ।‘किशोरीको शव भेटिएको खबर आएको छ, पहिचान खुल्न सकेको छैन, घटनास्थलतर्फ जाँदैछु,’ डिएसपी थापाले भने, ‘अनुसन्धानपछि नै थप विवरण आउँछ ।’