बुलबुल आँधीका कारण आइतबार बङ्गलादेशमा चारको मृत्यु

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता, कार्तिक २५ गते।

बङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण आइतबार चारको मृत्यु भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन्।करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८:३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी आएको थियो। आँधीका कारण करीब तीन लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ।आँधीबाट पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरू सुरक्षित स्थानमा सारिएको बंगलादेशी विपद व्यवस्थापन मन्त्रालयले जानकारी दिएको हो। आइतबार परेको बर्षापछि बुलबुलको प्रभाव शान्त बन्दै गएको छ। मन्त्रालयले कुल १८ लाख मानिस बुलबुलको कारण प्रभावित बन्नसक्ने भन्दै उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको थियो। बंगलादेशको भोला, बरगुना, पटुवाखाली, बरिसाल, पिरोजपुर, जलकाठी, बागेरहाट, खुलना र सातखिरा जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सारिएको हो। बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी डाक्टर अबुल कलाम मल्लिकले बुलबुल आँधीले आइतबार नै बंगलादेशको दक्षिण पश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनाए। पश्चिम बङ्गाल–खुल्ना तट पार गरिसकेको बुलबुल आँधी करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा बंगलादेशको उत्तरपूर्वी क्षेत्र तर्फ अघि बढिरहेको अधिकारीले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *